Explore the Radio Palpa in shortly.

खोप्टारमा भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

0

इमान सिं राना
पाल्पा (रामपुर) रामपुर नगरपालिका ४ खोप्टारमा वडा स्तरिय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी संगै शान्तिदिप समाज सुधार युवा क्लव रामपुर ४ खोप्टारको २२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम भएको हो ।
पाल्पा, स्याङ्जा र तनहुँका २० समुहको सहभागीता रहेका वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम भलाएतार युवा क्लव रामपुर २, द्वितिय बगर युनाईटेड रामपुर ७ र तृतिय दमाचौर तथा ठाँटी भञ्याङ्ग चापाकोट स्याङ्जाको समुह भएको छ । प्रतियोगितामा विजयी समुहले क्रमश नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ संगै मेडल र प्रमाण प्राप्त गरेको छ । प्रतियोगिताको मौलिक तथा सांस्कृतिक प्रस्तुति सहित पुरस्कार वितरण गरी समापन गरिएको छ ।
शान्तिदिप समाज सुधार युवा क्लवका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रम ब्रदर्श ग्रुपका सञ्चालक एवं सामाजिक अभियन्ता समसुल हक मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पुरस्कार वितरण गर्दै प्रमुख अतिथी मियाँले समाजको सकारात्मक विकास संगै कला संस्कृतिको संरक्षण तथा विकृतिको अत्यका लागि जुट्ने समय आएको बताउनुभयो । उहाँले आफ्नो ठाउँको विकासको लागि स्थानियहरु नै सक्रिय हुनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख इन्जिनियर कृष्ण बहादुर थापाले खेलले अनुशासन संगै युवालाई सृजनात्मक बन्न सिकाउने भन्दै क्लवले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
टिभिएस आटो शोरुम बेझाँडका सञ्चालक एवं समाजसेवी ऋषिराम भट्टराईले युवाहरुलाई सृजनात्मक संगै आर्थिक रुपान्तरणको अभियानमा लाग्न सुझाव दिनुभयो । कार्यक्रमको समापनको अवसरमा मगरी संस्कृतिमा आधारित मौलिक कौरा तथा मारुनी नाच प्रदर्शन गरिएको थियो । साथै श्रीकिस कलाकेन्द्र सहित स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो । शान्तिदिप समाज सुधार युवा क्लवका सदस्य सुरज मसराङ्गीको स्वागत बाट सुरु भएको कार्याक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष इन्द्रा थापाले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.