नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थाल्यो : सांसद राना

 

इमान सिं राना
पाल्पा (रामपुर) प्रदेश नं. ५ का सांसद विर बहादुर रानाले मुलुकमा नीति अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थालेको बताउनु भएको छ । उहाँले राज्य सञ्चालकहरु बाटै बेलाबेलामा संविधान र नीतिलाई मिचेर अघि बढ्ने प्रयास हुँदा समस्या देखिन थालेको बताउनुभयो ।


कालीगण्डकी फाउण्डेशन नेपालले शनिबार रामपुरमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा परिचयात्मक कार्यक्रममा बोल्दै रानाले राज्य संञ्चालकहरु बाटै हुने क्रियाकलापले गणतन्त्रलाई खतरामा पारेको बताउनुभयो । रानाले संघियता संगै जनताका चाहाना अनुसार काममा नलाग्दा व्यवस्था र राजनैतिक दल प्रति नै वितृष्णा बढेको भन्दै अव जनप्रतिनिधिहरु काममा लाग्ने समय आएको बताउनुभयो। रानाले बहुमत जहाँ जस्को आए पनि जनताको भावना अनुसार तिनै तहको सरकारले काम गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय आफ्नो र परिवारको लागि भन्दा उठेर समाजको लागि काम गर्ने मान्छे संख्या विरलै भएको बताउँदै यो चिन्ताको विषयको रुपमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा समाजिक कामका लागि तछाड र मछाड गर्नेको संख्या बढी भए पनि अहिले पाईनै छाडेको छ । हामी यति सम्म भयौ की अरुको भर पर्दा हिजो गोरेटो बाटो, पंधेरो सफा गर्ने हामी आज आँगनको खाल्टो सम्म नपुर्ने भयौ ।’
रानाले समाजको लागि सोच्ने समय आएको भन्दै अब पनि सोच्न सकिएन भने समाज अझै पछि जाने बताउनुभयो । फरक प्रसंगमा रानाले कालीनदी लगाएत हाम्रा प्राकृतिक स्रोतको महत्व बुझ्न नसक्दा यस क्षेत्र नै पछि परेको बताउनुभयो । कार्यक्रममा रामपुुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको विकासको लागि संघसंस्थाहरु संग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले हाल दिगोविकासको लागि योजना निर्माण गरिरहेको भन्दै कालीनदी संरक्षणको अभियानमा साथ दिन आग्रह गर्नुभयो । उहाँले कालीगण्डकी फाउण्डेशन नेपाललाई कालीगण्डकी बेशीका स्थानिय तहहरुलाई समेतेर पर्यटन, धार्मिक स्थलहरुको प्रवद्र्धनमा लाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकालले विभिन्न दातृनिकाय तथा गैरसरकारी संस्था बाट प्राप्त सम्पति राज्यको भएकाले यसको उचित संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका सल्लाहकार लेखनाथ पोखरेलले जसरी कालीनदीले आफ्ना वरपरका साना नदीहरुको संरक्षण गरेको छ त्यहि अनुसार काम गर्दै सबैलाई समावेश गरेर अघि बढ्न सुझाव दिनुभयो । रामपुर नगरपालिका विशेष समन्वय समितिका सदस्य राजु प्रसाद श्रेष्ठले नाम अनुसार काम गर्दै जान आग्रह गर्नुभयो । कार्यक्रममा अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप रानाले कालीनदी धार्मिक संगै पर्यटनको विकासको लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कालीनदीको बारेमा विभिन्न धार्मिकक ग्रन्थमा पनि उल्लेख गरिएको भन्दै यसलाई प्रचार प्रसार गर्न सके लाखौं पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल निस्दी १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँण, नेपाल कम्युनिष्ट पार्टी नेकपा पाल्पाका जिल्ला सदस्य दुर्गा देवी राना, नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवी सिग्देल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, राम मन्दिर संरक्षण समितिका अध्यक्ष फणेश्वर गौतम, युवा निर बहादुर सारु लगाएतका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा रामपुर नगरपालिकाका सहित वरपरका जनप्रतिनिधि, राजनैतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना आदनप्रदान गरेका थिए । होटल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रम कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षता, उपाध्यक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता देवी डोटेलको सञ्चालनमा भएको हो ।

Comments (0)
Add Comment