स्वास्थ्य संस्थालाई अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्न जिल्ला समन्वय समिति पाल्पाको निर्देशन

पाल्पा, जिल्ला समन्वय समिति पाल्पाले जिल्लाका सबै स्वास्थ्य संस्थालाई अनिवार्य ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाले ज्वरो आएका विरामीलाई उपचार नै नगरि फर्काएको गुनासो बढेपछी जिल्ला समन्वय समितिले सबै स्वास्थ्य संस्थामा ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको हो ।

पाल्पाका प्रदेश सांसद, स्थानिय तहका प्रमुखहरुको संयूक्त बैठकले कुनै पनी स्वास्थ्य समस्याले ज्वरो आएमा अनिवार्य रुपमा सुरक्षित तरिकाले उपचार गर्ने व्यवस्था मिलाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको जिल्ला समन्वय समिति पाल्पाकी कार्यबाहक प्रमुख मिरा मरासिनीले बताउनुभयो । जिल्लाका लुम्बिनी मेडिकल कलेज, यूनाईटेड मिसन अस्पताल लगाएत सबैजसो स्वास्थ्य संस्थाले ज्वरो आएका विरामीलाई चेकजाँच नै नगरि सामान्य औषधी दिएर घर पठाएको गुनासो नागरिकहरुको छ । स्वास्थ्य संस्थाहरुले आफुहरु संग चिकित्सकहरुले प्रयोग गर्ने सुरक्षित सामग्री पिपिई नभएको र जोखिम मोल्न नसक्ने बताएका छन् । समितिले सबै स्थानिय तहले एम्बुलेन्स र चालकलाई सुरक्षित रुपमा तयारी अवस्थामा सहन समेत निर्देशन दिएको छ । त्यस्तै भारत लगाएत विदेशबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने र जनप्रतिनिधीहरुले वडा वडामा त्यसको अनुगमन गर्ने, आवश्यक परेमा प्रशासनको सहयोग माग्ने समेत निर्णय भएको छ ।

समितिले सबै स्थानिय तहले दैनिक ज्यालादारी गर्ने मजदुरहरुको सहज जिवनयापनका लागी लगत संकलकन गरेर आवश्यक व्यवस्था मिलाउने, सबै स्थानिय तहले राहत वितरणमा एकरुपता ल्याउने, खाद्यान्न तथा औषधीजन्य वस्तुको आपुर्ती व्यवस्था नियमित गराउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले घोषणा गरेको लक डाउनलाई धेरै नागरिकहरुले पालना नगरेको देखिएकाले कडाईका साथ पालना गराउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

Comments (0)
Add Comment