रामपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु निर्विरोध निर्वाचित, अध्यक्षमा पुन : ढकाल

पाल्पा (रामपुर) रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको अध्यक्षतामा पुनः भोजेन्द्र प्रकाश ढकाल निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष ढकाल दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हनु भएको हो ।
नयाँ कार्यसमिति चयनका लागि सम्पूर्ण पदमा एक/एक जनाको उम्मेदवारी परेपछि ढकालको अध्यक्षतामा २४ सदस्य नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । गत असोज २७ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आउँदो कार्तिक १७ गतेका लागि निर्वाचन मिति तय गरेको थियो । कार्यसमिति गठनको लागि निर्वाचन प्रक्रिया सुरु भए पनि पदाधिकारी चयनको लागि राजनैतिक सहमतिमा सबै पदमा एकल उम्मेदवारी परेको थियो ।
समितिको वाणिज्य उपाध्यक्षमा निवर्तमान वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई र उद्योग उपाध्यक्षमा निवर्तमान उपाध्यक्षमा रुद्र नारायण श्रेष्ठ निर्वाचित हुनु भएको छ । सदस्यहरुमा शिव प्रसाद ढकाल, विशाल श्रेष्ठ, कृतिनाथ श्रेष्ठ, हरि प्रसाद कंडेल, भिमविश्व भट्टराई, लक्ष्मी गैरे वास्तोला, जनक राज ढकाल, विष्णु बहादुर सारु, दिनेश आचार्य, राजेन्द्र प्रसाद देवकोटा, कृष्ण बहादुर खड्का, भरतराज देवकोटा, मधुसुधन भट्टराई, दोजराज तिवारी, युवराज शाही, मित्रलाल देवकोटा, दुर्गा प्रसाद पोखरेल, खिम बहादुर क्षेत्री, खुममायाँ राना, समसुल हक मिया र प्रेम प्रकाश ढकाल निर्विरोध निर्वाचित भएको निमित्त निर्वाचन अधिकृत बालकृष्ण लम्सालले शनिबार घोषणा गर्नु भएको हो । संघको दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष ढकालले संघलाई अझ सशक्त बनाएर आर्थिक विकास संगै रामपुर क्षेत्रको पहिचान कायम गर्न सरोकारवालाहरु संग समन्वय गरी अघि बढ्ने बताउनुभयो । उहाँले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद समेत दिनुभयो ।
संघको कार्यालयमा भएको घोषणा सभामा संघका सल्लाहाकार राजु प्रसाद श्रेष्ठ, हुमनाथ न्यौपाने, राजेन्द्र लम्सार र प्रेस सल्लाहाकार बासुदेव ढकालले विगतमा संघले गरेको कामको चर्चा गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुले सपथग्रहण सोमबार गर्दैछ ।

Comments (0)
Add Comment