भूपू विद्यार्थी द्वारा सम्मान छात्रवृति कोष स्थापना

इमान सिं राना
पाल्पा (रामपुर) दरै ठाटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा भूपू विद्यार्थीले सम्मान छात्रवृति कोष स्थापना गर्नु भएको छ । दरैठाटी माध्यमिक विद्यालय भू.पू. विद्यार्थी समाज रामपुरले नवमीको अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रमका विच रामपुर नगरपालिका ६ किसान टोलका शालिकराम कंडेलले कोष स्थापना गर्नु भएको हो ।

जेहेन्दार तथा गरिब विद्यार्थीको लागि कंडेलले बुवा तारानाथ कंडेल र आमा तिलमाया कंडेलको नाममा ५१ हजार ६ सय ६ रुपैयाँ राशीको तिलमाया तारानाथ कंडेल सम्मान छात्रवृति कोष स्थापना गर्नु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदन प्रकाश रेग्मी र सहायक प्रधानाध्यापक मुकुन्द प्रसाद गौतमलाई चेक हस्तान्तरण गर्दै कंडेलले बुवा आमाको सम्मान संगै गरिब तथा जेहेन्दार विद्यार्थीको लागि कोष स्थापना गरिएको बताउनु भयो । नेपाल फर्मासिटीकल्स ल्याव प्रालिका सेल्स म्यानेजर कंडेलले कोष मार्फत वार्षिक रुपमा २ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिने जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रमको अवसरमा पूर्व विद्यार्थी एवं रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले दरैठाटी माध्यमिक विद्यालय भू.पू. विद्यार्थी समाजको कार्यालय सञ्चालनको लागि दराज प्रदान गर्नु भएको छ । उहाँले संस्थापक अध्यक्ष ओम प्रकाश बस्याललाई चावी हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यालय प्रति भूपू विद्यार्थीहरुले देखाएको मायाँ र सद्भावको प्रशंसा गर्दै नगरको विकासका लागि सुझावहरु प्रदान गर्न आग्रह गर्नु भयो । थापाले नगरपालिकाले गरेका प्रयासहरुको बारेमा जानकारी दिदै रामपुरको विकासको लागि नगरपालिका सबै विचार र सिद्धान्तलाई एकताबद्ध बनाएर अघि बढेको जानकारी दिनुभयो । शुभकामना व्यक्त गर्दै थापाले सकारात्मक सोचले मात्र समाज अग्रगतिमा बढ्ने बताउनुभयो । उहाँले नगरपालिकालाई खरको छाना मुक्त, उज्यालो शहरको रुपमा घोषणा गर्ने गरी अघि बढेको बताउनुभयो ।


कार्यक्रममा रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडाले शिक्षाको विकासको लागि चलाएको अभियान र समग्र वडाको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द प्रसाद गौतमले विद्यालय बाट उत्पादित जनशक्ति देशका विभिन्न ओहोदा रहेर समाजका लागि केही न केही योगदान दिनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आफ्ना अनुभव र देखेका भोगेका नविन कुराबारे जानकारी दिएर सहयोग गरिदिन अग्रह गर्नुभयो । पूर्व विद्यार्थी एवं रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले सकारात्मक सोचलाई विकास गर्दै समाज रुपान्तरणमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरुले एक आपसमा शुभकामना आदनप्रदान गरेका थिए । विद्यालयमा भएको कार्यक्रममा उहाँले सकारात्मक सोचले मात्र समाज अग्रगतिमा बढ्ने बताउनुभयो ।
दरैठाटी माध्यमिक विद्यालय भू.पू. विद्यार्थी समाज रामपुरका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा भएको कार्यक्रम, उपाध्यक्ष रामचन्द्र ढुङ्गानाको स्वागत, संस्थापक सचिव रमेश ढकालको धन्यवाद र सचिव सुदिप गैरेको सञ्चालनमा भएको हो ।

Comments (0)
Add Comment