Explore the Radio Palpa in shortly.

यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

0

काठमाडौँ / पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ।

मतपेटिकाको सुरक्षाका लागि मतदानपछि लगाइएका प्रत्येक सिलमा नम्बर छ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्।

‘प्रत्येक सिलको नम्बर गणनापछि मतपेटिका बन्द गर्ने बेलाको मुचुल्कामा लेखिएको छ। दलका प्रतिनिधिले पनि टिपेर लगेका छन्,’ उनले भने, ‘सिल निकालेर अर्को राख्यो भने नम्बरबाट पत्ता लाग्छ।

बाकस खोल्न सिल काट्नैपर्छ। काटिएको सिल फेरि लगाउन मिल्दैन।’ सिलको रेकर्ड आयोग, जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलका प्रतिनिधिसँग रहने भएकाले मतपेटिकाको सुरक्षामा कुनै शंका नभएको उनले बताए।
सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन 

आयोगले मतदानपछि मतपेटिका ओसारपसारमा सशस्त्र सुरक्षाकर्मी प्रयोगमा रोक लगाएको छ। बन्दुक बोकेका सुरक्षाकर्मीले मतपेटिका बोक्न नहुने मान्यताअनुसार आयोगले मतदान केन्द्रमा खटिएका कर्मचारी र स्वयंसेवकले नै मतपेटिका बोक्नुपर्ने निर्देश गरेको हो। सुरक्षाकर्मी मतपेटिका भण्डारण गरिएको बाहिरी भागमा मात्रै सुरक्षाकर्मी परिचालन हुनेछन्।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतपेटिकाको सुरक्षालाई लिएर कुनै प्रकारको शंका/उपशंका नपाल्न आग्रह गरे। ‘मतपेटिका बिल्कुलै सुरक्षित रहन्छन्, राजनीतिक दल र उम्मेदवारलाई विश्वासमा लिएर मात्रै मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘लामो अवधि मतपेटिका रुँगेर बस्नुपर्दा दल र उम्मेदवारका प्रतिनिधिलाई कठिनाइ त हुनेछ।’

कान्तिपुर दैनिकबाट

Leave A Reply

Your email address will not be published.