Explore the Radio Palpa in shortly.

तेस्रो मण्डली कप अन्तर्गत अन्तरपालिका स्तरिय भलिबलको उपाधी कालीगण्डकीलाई

0

 शंकर प्रसाद श्रेष्ठ
पाल्पा (सिलुवा) मण्डली स्पोर्टस् क्लवको शान, खेलकुद तथा लोक संस्कृतिको पहिचान भन्ने नाराका साथ मण्डली स्पोर्टस् क्लव पूर्वखोला १ सिलुवा द्वारा आयोजित तेस्रो मण्डली कप अन्तर्गतका प्रतियोगिताहरु सम्पन्न भएको छ ।


सिलुवा हटिया बजारमा भएको अन्तरपालिका स्तरिय भलिबल सम्पन्न भए संगै प्रतियोगिताहरु सम्पन्न भएको हो । आइतबार सम्पन्न अन्तरपालिका स्तरिय भलिबलको उपाधी स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हात पारेको छ । फाईनल खेलमा पाल्पाको निस्दी गाउँपालिकालाई सोझो सेटमा हराउँदै कालीगण्डकीले उपाधी चुम्न सफल भएको हो । पहिलो, दोस्रो र तेस्रो सेट २५/१७, २७/२५ र २९/२७ अंक सहित कालीगण्डकीले जितेको थियो । यस संगै निस्दी गाउँपालिका द्वितीय स्थानमा सिमित भएको छ ।
त्यस्तै तृतिय स्थान छनौटको लागि पाल्पाको पूर्वखोला र तनहुँको घिरिङ गाउँपालिका विच भएको खेलमा ३/२ सेट अन्तरमा घिरिङ विजयी भएको छ । पहिलो सेट २५/२०, दोस्रो २५/१८ सहित घिरिङ र तेस्रो सेट २५/१६, चौथो सेट २५/२२ सहित पूर्वखोलाले जितेको थियो । अन्तत पाँचौ सेट १५/१३ अंक सहित हात पार्दै घिरिङ तृतिय भएको छ । पूर्वखोला सान्त्वना भएको छ । विजयी समुहले क्रमश नगद ६० हजार, ४० हजार,२० हजार र१० हजार सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । पाल्पा, स्याङ्जा र तनहुँका १२ समुहको सहभागीता रहेको प्रतियोगितामा वेष्ट सेटर कालीगण्डकी गाउँपालिकाका शरण राना, वेष्ट डिफेन्सर कालीगण्डकी गाउँपालिका स्याङ्जाका दिल थापा, वेष्ट स्पाईकर निस्दी गाउँपालिकाका विजय परियार, वेष्ट प्लेयर कालीगण्डकी गाउँपालिका सोम पाण्डे भएका छन् ।
यस्तै व्याटमिन्टन प्रतियोगितामा तनहुँ खैरेनीका कमल राना र रेशम आले प्रथम, रामपुरका शंकर खाँण र भानु शाही द्वितीय , अन्जान थापा र सन्तोष सारुको समुह र होम बहादुर गुरुङ र मोहन गुरुङको समुह तृतिय भएको थियो । प्रतियोगितामा विजयी समुहले क्रमश नगद २० हजार, १० हजार र ५ हजार हात पारेको थियो । मण्डली कप अन्तर्गतका प्रतियोगितामा विजयी समुहलाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण गर्दै प्रदेश नं. ५ का सांसद युवराज खनालले यस्ता प्रतियोगिताले अन्तरपालिका विचको सम्बन्ध सुमधुर बनाउनुका साथै युवाहरुलाई सृजनशिल बनाउने बताउनुभयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, एम पि रियल स्टेट एण्ड कन्ट्रक्सनका सञ्चालक प्रेम काम्मु, पूर्वखोला गाउँपालिका १ का वडा अध्यक्ष भोग बहादुर थापाले क्लवले स्थानिय स्तर बाटै खेलप्रतिभाको विकासको लागि सञ्चालन गर्दै आएको कार्यक्रमको प्रसंशा गरेका थिए । मण्डली स्पोर्ट क्लवका अध्यक्ष अनन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद पंगेनी र ज्ञान बहादुर रानाले गर्नु भएको हो । कार्यक्रमको अवसरमा पाल्पा लोक आईडल धनमायाँ दिसुवा, लोक गायक तोया विकको समुह, स्थानिय कलाकारहरुको प्रस्तुति संगै मौलिक कौरा तथा पञ्चेबाजा समेत रहेको थियो ।

Leave A Reply

Your email address will not be published.