Explore the Radio Palpa in shortly.

जनैपूर्णिमा पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

0

पाल्पा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ
यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन् । तर संघीय सरकारले भने यसअघि दिदै आएको सार्वजनिक विदा खारेज गरेको छ ।

आजै जरो किलो प्रतिष्ठान नेपालले दोश्रो बिश्व संस्कृत दिवस मनाउने भएको छ ।

नेपाली रेडियाे नेटवर्क बाट साभार

 

Leave A Reply

Your email address will not be published.