Explore the Radio Palpa in shortly.

नेपाली कांग्रेस रामपुरले विद्युत महशुल वृद्धि गर्ने निर्णय प्रति ध्यानाकर्षण गरायो !

0

ईमानसिङ राना-रामपुर, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले विद्युत महशुल वृद्धि गर्ने निर्णय प्रति ध्यानाकर्षण गराएको छ । बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला विद्युत वितरण केन्द्रको विद्युत महशुल वृद्धि फिर्ता लिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

विद्युत नियमन आयोग मार्फत गत मंगलबार बुटवल पावर कम्पनी लि.आँधीखोला विद्युत वितरण केन्द्रको विद्युत महशुल वृद्धि सम्वन्धमा जारी भएको सूचना प्रति ध्यानकर्षण गराउँदै बुटवल पावर कम्पनी शाखा कार्यालय रामपुर, इलाका प्रशासन कार्यालय रामपुर र रामपुर नगरपालिकामा पत्र बुझाएको हो । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई नेतृत्वको टोलीले बुटवल पावर कम्पनी शाखा कार्यालय रामपुरका प्रमुख भिम सोमै, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञावली मार्फत ध्यानाकर्षण पत्र पठाएको हो ।

 ध्यानाकर्षण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य देवराज ढकाल, जिल्ला सदस्य बुद्धिप्रकाश रेग्मी, भलाविक्रम सिंह, नगर कार्यसमितिका उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नगर सचिव ओम प्रकाश बस्याल, चिरञ्जीवि सिग्देल, कोषाध्यक्ष मोहन भट्टराई लगाएतको उपस्थिति रहेको थियो । बुटवल पावर कम्पनीको विद्युत महशुल वृद्धि नगर्ने र कम्पनीबाट प्रदान गरिएको सेवालाई थप गुणस्तरीय बनाउदै लैजानुपर्ने माग गरिएकोमा बेवास्ता गर्दै आयोगले गरेको निर्णयले उपभोक्ता प्रभावित भएको कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, ‘स्थानीय श्रोतसाधनको प्रयोग गरी सर्वशुलभ रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउनु पर्नेमा जनताको ढाड सेक्ने गरि गरिएको महशुल वृद्धि फिर्ता लिनजोडदार माग गर्दछौँ ।’ महशुल फिर्ता नगरे चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्य हुने भन्दै कांग्रेसले यसबाट पर्न सक्ने क्षतिको जिम्मेवारी समेत स्वयम् विद्युत नियमन आयोग र बुटवल पावर कम्पनी लिनु पर्ने बताएको छ । विद्युत पोल, तार खरिदको लागि स्थानीय तहहरुको साथ र सहयोग हुँदा हुँदै आम सर्वसाधारणलाई मर्का पर्ने गरी भएको निर्णय प्रति सशक्त ढंग बाट प्रस्तुत हुने नगर सभापति भट्टराईले जानकारी दिनुभयो ।

रामपुर नगर प्रमुख रमण बहादुर थापाले पत्र सम्बन्धित निकायमा पठाउने बताउँदै महशुल दर पुनरावलोकन गर्नु पर्ने माग नगरपालिकाले पनि गरेको बताउनुभयो । स्थानीय संगै पालिकाहरु बाट सहयोग हुँदा हुँदै पनि घाटा देखाएर महशुल वृद्धि गरेको प्रति नगरको पनि ध्यानाकर्षण भएको बताउनुभयो । बुटवल पावर कम्पनी शाखा कार्यालय रामपुरका प्रमुख भिम सोमै र इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञावलीले पनि पत्र सम्बन्धित स्थानमा पठाउने प्रतिवद्धता जनाउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.