Explore the Radio Palpa in shortly.

कृषकहरुको लागी रामपुरमा १ दिने वित्तिय साक्षरता कार्यक्रम

0


दानु हिस्की मगर

पाल्पा (रामपुर) कृषकहरुको लागि १ दिने वित्तिय साक्षरता कार्यक्रम रामपुर ७ किसानबारीमा सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस रामपुरको सभाहलमा भएको कार्यक्रम कृषि विकास बैंक शाखा कार्यालय रामपुरको आयोजना र सिताकुण्ड दुग्ध उत्पादक कृषि सहकारी संस्था रामपुरको सह आयोजनामा भएको हो ।

कार्यक्रममा कृषि विकास वैंक क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप कुमार दहालले किसानका लागी काम गर्ने र किसान संग सधै नजिक रहने बैंक कृषि विकास बैंक रहेको बताउनुभयो । साथै कृषि विकास बैंकले हरेक स्थानिय तह संग सहकार्य गरेर कृषकको हितमा काम गर्न सधैं लागी रहेको बताउदै हरेक नागरिकले बचत गर्ने बानीको विकास गर्नु पर्ने बताउनुभयो । उहाँले अब हरेक सरकारी कार्यालयले कृषि विकास बैंकबाट कारोबार गर्न आवश्यक रहेको बताउदै निक्षेप र कर्जाको अनुपात मिलाउनु पर्दा सोचे अनुरुप ऋण प्रवाह गर्न नसकिएको बताउनुभयो । उहाँले सरकारको बैंक भन्दै ऋणका लागी कृषि विकास बैंकमा आउने तर बचत गर्न अन्य बैंकमा जाने समस्याले गर्दा बैंकले सोचे अनुसारको सेवा प्रवाह गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लिल बहादुर गाहाले ग्रामिण क्षेत्रका हरेक किसानलाई समेट्ने गरी बैंकले लगानी गर्ने बातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । यस्तै कृषि विकास वैंक रामपुर शाखाका प्रबन्धक विशाल पौडेलले रामपुरमा रहेको कृषि विकास वैंकमा बचत कम गर्ने तर ऋण बढि माग हुने हुँदा कृषकलाई सोचे अनुरुपको ऋण प्रवाह गर्न समस्या भएको बताउनुभयो । साथै अन्य क्षेत्रको पैसा ल्याएर रामपुरका कृषकलाई ऋण प्रवाह गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा कृषि विकास वैंक क्षेत्रिय कार्यालय भैरहवाका शाखा प्रबन्धक राजेश कुमार श्रीबास्तव , सिताकु्ण्ड दुग्ध उत्पादक सहकारी संस्था अन्तर्गत पशु धन सुरक्षण समितिका संयोजक नगिलाल पौडेल , सहकारी संस्थका पूर्व अध्यक्ष कृष्ण कुमार अर्याल लगाएतले आफ्ना धारणा राख्नु भएको थियो ।
८० जना कृृषकहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले कृषि विकास वैंकका सेवा प्रवहाका बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ कृषि विकास बैंक क्षेत्रिय कार्यालयका निर्देशक सुदिप कुमार दाहालले दिनु भएको थियो । कृषि विकास बैंक रामपुर शाखाका प्रबन्धक विशाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक पाल्पा शाखाका प्रबन्धक मधुकर काफ्लेले उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कमलराज भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रमको संचलन कृषि विकास बैंक रामपुर शाखाका सहायक शाखा प्रबन्धक सिंहलाल सुनारले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.