Explore the Radio Palpa in shortly.

आज कृष्णजन्माष्टमी, पाल्पाको रम्भादेवी र सीताकुण्डमा धार्मिक मेला लाग्दै

0

पाल्पा

आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व । हिन्दु धर्मावलम्बीहरूले श्रीकृष्ण भगवानको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् ।

भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको मध्यरातमा मथुराको एक कारागारमा कंसकी बहिनी देवकीको कोखबाट भएको थियो । त्यसैले आजको दिनलाई कृष्णजन्माष्टमीको रुपमा मनाउने गरिन्छ । आज देशै भरका कृष्ण मन्दिर, अन्य मठमन्दिरमा भक्तजनहरुको ठुलो उपस्थिति रहने गर्दछ । यता पाल्पाको रम्भा गाउँपालिकाको ताहुँमा अवस्थित एकसय नयाँ पर्यटकिय गन्तव्यमा पर्न सफल रम्भादेवी मन्दिर र रामपुर सीताकुण्डमा अवस्थित धार्मिक एवम पर्यटकिय स्थल सीताकुण्डमा विशेष धार्मिक मेला लाग्दै छ । केहि समय पहिले सम्म वेवास्तामा परेको रम्भादेवी तथा सीताकुण्ड क्षेत्र हाल भने संघ, प्रदेश र स्थानिय सरकारको सहयोग संगै स्थानियहरुको सक्रियतामा संरक्षण हुँदै आएको छ । प्रचारप्रसार संगै स्थानिय निकाय र सरकारी पक्षको उपस्थितीको गर्दा वर्षेनी दर्शन गर्न आउने भक्तजनको उपस्थिति बढ्दै क्रममा रहेको छ ।

दुवै स्थान त्रेतायुगको भगवान रामचन्द्र, सीता र लक्ष्मणको १४ वर्षे वनबास संग जोडिएको छ । ताहुँको रम्भापानी जङ्गलभित्र रहेको रम्भा देवीमा मन्दिरमा वनबास निस्कँदा यात्राको क्रममा भगवान राम, सीता र लक्ष्मण वनबास निस्किदा राम्दी जाने क्रममा ताँहुमा बास बस्नुपरेको र सीतालाई तिर्खा लागेपछि पानीका लागि रामसँग आग्रह गर्दा रामले आफूसँग रहेको धनुबाणले हानेर जमिनमुनिको पानी निकाली सीताको तिर्खा मेटाएको भन्ने विश्वास रहेको छ । मन्दिरनजिकै अहिले पनि पानी प्रशस्त देख्न सकिन्छ । यो क्षेत्र ऋषिमुनिको पनि तपोभूमिका रुपमा समेत प्रसिद्ध मानिएको छ । ऋषिले आराधना गर्दा रम्भादेवी प्रकट भइन् । जमिनमुनि मेरो शिला छ, त्यसलाई निकालेर पूजा गर्नु भन्ने आज्ञा भएपछि जमिनमुनि खन्दा शिला फेला परी त्यसलाई मन्दिर बनाएर रम्भादेवीको पूजा गर्दै आएको धार्मिक विश्वास रहेको छ । देवी सीतालाई रमा नामले समेत चिनिने गरिएकाले रामले पानी उत्पत्ति गरी तिर्खा मेटाएकाले यस मन्दिर क्षेत्रलाई रमापानी नामले पनि चिनिन्छ । मन्दिरमा पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वासले रोट, फलफूल र पञ्चबलि समेत चढाउने चलन छ ।

सीताकुण्डमा पनि भगवान राम वनबास गएको बेला यो क्षेत्रमा घुम्न आएको र सिता रजस्वाला भएको समयमा भगवान रामले यस ठाउँमा वाण प्रहार द्वारा पानी निकाली सीतालाई नुहाउने व्यवस्था मिलाएको कुण्डलाई नै सीता कुण्ड भनिएको भन्ने जनविश्वास रहिआएको छ । यो कुण्ड देशका १०८ मध्ये महत्वपुर्ण एक कुण्ड हो । कुण्डमा नुहाई भगवानको दर्शन गर्नाले मोक्ष्य प्रप्ति हुने र मनोकाङ्क्षा पुरा हुन्छ भन्ने धर्मिक विश्वास रहि आएको छ । कृष्णजन्मअष्टमीको दिन भक्तजनहरुले कालीनदीको पानी सीताकुण्डमा ल्याई मिसाउने र याहाँको कुण्डमा नुहाउने र सिता कुण्डमा रहेको विशेष किसिमको धान गोड्ने गर्छन् । कुण्डमा विश्वमै फरक किसिमको धान पाईन्छ । कुण्डमा विहानै देखि स्याङ्जा, तनहुँ, पाल्पा, नवलपुरका भक्तजनहरु आउने गर्दछन् । हाल सीताकुण्डमा भने पशुवली निषेध गरिएको छ । भक्तजनहरुको सहजतालाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले पनि सीताकुण्ड सम्मको बाटोको पहिरो हटाएको छ । मेलालाई मध्यनजर गर्दै हिजो स्थानियहरुले कुण्ड स्थल वरपर सरसफाई गरेका थिए । यस्तै राधाकृष्ण मन्दिर बेझाँडमा पनि आज भजन कृतन सहित पुजाआरधना र कृष्ण जन्मोत्सव मनाईदै छ । देशको सुदुरपश्चिम भागमा भने आज गौरा पर्व मनाईदै छ ।

Leave A Reply

Your email address will not be published.