Explore the Radio Palpa in shortly.

आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज धुमधामका साथ मनाइँदै

0

पाल्पा
आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज । हिन्दू महिलाहरु शिवजीको व्रत बसी पूजाआजा संगै नाचगान गरी तीज धुमधामका साथ मनाइँदै छन् ।
प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । हिजोे दरखाई आज भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।
पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ । तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै अन्य गीत गाउन थालिएको छ ।
प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो । तीजको ब्रत बसी विवाहित महिलाहरूले पतिको निमित्त र अविवाहितहरुले असल वर पाउँ भन्दै निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । आज बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला झिसमिसे बिहानीदेखि नै शिवको पुजाअर्चना गर्न काठमाडौंको पशुपतिनाथ, संगै देशका विभिन्न शिवालयहरुमा पुग्ने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.