Explore the Radio Palpa in shortly.

बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति 

0

पाल्पा ! नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्व तयारी बिना तानसेन–रानीमहल सडक बन्द गरिएकोमा आपत्ति जनाएका छन् । ‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत तानसेनको छर्लुङ्गमा भएको कार्यक्रमको अनुगमनमा पुगेका सभापति श्रेष्ठले सडकको स्थलगत अवलोकन गर्दै पूर्व तयारी बिना सडक बन्द गरेर यात्रुलाई सास्ती भएको भन्दै आपत्ति जनाएका हुन् ।   

उनले सडकमा अहिले कुनै पनि काम नभएको तर ढुवानीका सामान मात्र राखिएकाले तयारी गरेर मात्र सडक बन्द गरिनु पर्ने बताएका छन् ।  सभापति श्रेष्ठले एनजेडीसँगको कुराकानीमा भने‘ अहिले सडकमा कुनै पनि काम भएको देखिदैन, त्यहाँ निमार्णका लागि आवश्यक सामाग्री मात्र राखिएको छ, त्यो त सडकको एक छेउमा राखेर भए पनि सडक सञ्चालन गर्न सकिन्छ तर त्यसो गरिएको छैन ।’ 

 सडकको ढलान, मर्मत र स्तरोन्नतीको कार्य गर्न भन्दै माघ १७ गतेदेखि २०८० चैत्र ५ गतेसम्मका लागि पूर्ण रुपमा २४ सै घण्टा सडक बन्द गरिएको छ ।  सडक निर्माणको कुनै तयारी नगरिकन बाटो बन्द गर्दा पर्यटकीयस्थल रानीमहल पुग्ने पर्यटकहरु समेत समस्यामा परेको भन्दै सभापति श्रेष्ठले प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई ध्यानाकर्षण समेत गराएका छन् । उनले  तयारी पुरा गरेर मात्र सडक बन्द गर्नुुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई मौखिक ध्यानाकर्षण गराएको बताए । माघ १२ गते जिल्ला प्रशासन कार्यालय पाल्पामा प्रमुख जिल्ला अधिकारी काफ्लेको अध्यक्षतामा बसेको सडक सुरक्षा समितिको बैंठकले निर्माण व्यवसायीबाट निर्माण कार्यका लागि सडक बन्द गरेर सहज गरिदिन आग्रह गरे बमोजिम सो सडक बन्द गर्ने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.